देउवाको राजनीति
जनार्दश र महरा आउटः कमल थापा परराष्ट्र, विजय गच्छदार गृहमन्त्री !
थारुके आवाज(By admin)/२०७४ असोज ३० गते सोमबार
माओवादी मन्त्रीहरुलाई बिनाविभागीय भूमिकामा सीमित गराउने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सरकारमा सहभागी भएको राप्रपा र काँग्रेस प्रवेश गर्न लागेका विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरमलाई महत्वपूर्ण मन्त्रालय दिने भएका छन् ।
प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार केही दिनअघि उपप्रधानमन्त्रीको सपथ लिएका राप्रपा अध्यक्ष कमल थापालाई परराष्ट्र र गच्छदारलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।
हाल माओवादी केन्द्रका तर्फबाट सरकारमा नेतृत्व गरेका कृष्णबहादुर महराले परराष्ट्र र जनार्दन शर्माले गृह मन्त्रालय चलाइरहेका छन् ।सत्ता गठबन्धनको संस्कृतिविपरीत प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाउँदै देउवाले आफ्ना मन्त्री फिर्ता बोलाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए ।
तर, प्रचण्डले चुनाव गराउने उद्देश्यमा आधारित भएर काँग्रेस–माओवादी गठबन्धन निर्माण भएको भन्दै चुनावअघि सरकार नछाड्ने र सरकारलाई दिएको समर्थन पनि यथावतै राख्ने जवाफ दिएका थिए ।
देउवाले माओवादी मन्त्री बर्खास्तीको समेत तयारी गरेका थिए । तर, निर्वाचन आयोग र एमाले–माओवादी गठबन्धनले आचार संहिताविपरीत मन्त्री नहटाउन चेतावनी दिएपछि देउवा पछि हटेका थिए । अन्त्यमा देउवा माओवादी मन्त्री नहटाउने तर भूमिका विहीन बनाएर राख्ने रणनीति अख्तियार गरेका हुन् ।
विनाविभागीय भएसँगै भूमिकाविहीन अवस्थामा माओवादी मन्त्री आफैं पाखा लाग्ने अनुमानसहित देउवाले यस्तो गर्न लागेका हुन् ।
एमाले–माओवादी गठबन्धन निर्माणसँगै आफूलाई पदच्युत गर्ने आशंकामा देउवाले संसदमा बहुमतसिद्ध गरेर देखाउन राप्रपालाई ८ मन्त्री दिएर सरकारमा ल्याएका हुन् ।
बाम गठबन्धनको काउण्टरमा देउवाले लोकतान्त्रिक गठबन्धन निर्माणको सिलसिलामा गच्छदारलाई पार्टीमा महत्वपूर्ण पदाधिकारीसहित सरकारमा थप भूमिका दिएर काँग्रेस प्रवेश गराउन लागेका छन् ।
गच्छदार आइतबारै काँग्रेस प्रवेश गर्ने तयारी भए पनि भागबण्डामा केही विषय मिलाउन बाँकी रहेकाले प्रवेश कार्यक्रम आज (सोमबार) का लागि सारिएको छ ।
Comments
Post a Comment